काठमाडौं । कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा.नारायण खड्काले शान्ति सेनामा नेपाली फौज बढाउन, नेपाललाई कार्य क्षेत्र र राष्ट्रसङ्घीय प्रधान कार्यालयमा उच्च ओहोदा सुनिश्चित गर्न आग्रह गरेका छन् l
खड्काले राष्ट्रसङ्घको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ताका क्रममा राष्ट्रसङ्घीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसङ्घबीचको विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान गर्दै शान्ति सेनामा नेपाली फौज बढाउन आग्रह गरेका हुन् l
खड्काले कुवेतका विदेशमन्त्री डा. अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरू बीच नेपाल–कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवर्द्धनलगायत साझा चासो र अन्य विषयमा विचार-विमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।