काठमाडौं । कित्ताकाट बन्द छ । तर दशैं मज्जाले मान्न लाखौंलाख घुस असुलेर नापी कार्यालयबाट धमाधम कित्ताकाट गर्ने कार्य भइरहेको छ । काठमाडौं उपत्यकाका नापी कार्यालयहरूमा घुस भएपछि कित्ताकाट रोकिँदैन । दररेटअनुसार घुस नबुझाउनेलाई मात्र कित्ताकाट रोक्काको पत्र देखाइन्छ । भनेजति घुस दिनेलाई कित्ताकाट गर्ने क्रम रोकिन सकेको छैन ।
सन्दर्भ हो, ललितपुर नापी कार्यालयको । ललितपुर नापी कार्यालयमा पुराना कर्मचारीहरूले कित्ताकाट रोकिएको भनेर धेरै जग्गा प्लटिङका काम रोकिएका थिए । तर काजमा सरुवा भएका सर्वेक्षकहरूले प्लटिङवालाहरूसँग घुस लिएर धमाधम कित्ताकाट गर्दै आएकोमालपोतको कर्मचारी स्रोत बताउछ ।
आनाको १ लाखका दरले घुस लिएर कित्ताकाट हुदै आएको छ । जग्गा व्यवसायीले घुसको रकम पनि जनतासँग असुलेर लिने गरेका छन् । नापी कार्यालयमा काज सरुवा भएका सर्वेक्षक हरि तिवारीले कित्ताकाटमा घुस असुलीको नेतृत्व गर्दै आएका छन् । १५ दिन अगाडि मात्र साविक विष्टछापको ३(क) कित्ता नं. ३७६ देखि ४०० सम्म २४१ देखि २६७ कित्ताकाट गर्दा ५७ लाख घुस लिएको नापी कार्यालयका एक कर्मचारी बताउँछन् ।
कार्यालय जाँदा झोला, टेप, कलम सबै बोक्नुपर्नेमा सर्वेक्षक तिवारी रित्तोहात जाने र अरुलाई काम लगाएर घुस भने आफुले मात्रै खाने गरेका छन् । घुसको डिल पनि उनी आफैं गर्ने गरेका छन् । प्लटिङवालाले सर्वेक्षक तिवारीसँग मिलेर सँगै जोडिएका सरकारी जग्गासमेत टायल चेकका नाममा घुसाउने गरेका छन् । ललितपुर नापी कार्यालयमा तिवारी काजमा सरुवा भएदेखिका जग्गा नापनक्सा गरेको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएर छानबिन गर्ने हो भने कित्ताकाट गर्ने क्रममा सरकारी जग्गा घुसाएको फेलापर्ने कार्यालय स्रोत बताउँछ ।
प्लटिङवालाको ५७ वटा कित्ताकाट गरेवापत एकैदिन ५७ लाख घुस लिने तिवारी मनमैजु नापीमा हुँदा घुससहित रंगेहात समातिएका थिए । विशेष अदालतमा प्रभाव पारी सफाई पाएका उनको अकुत सम्पत्तिमा अख्तियारले छानबिन गरेको छैन । लमजुङ घर भएका तिवारी अहिलेसम्म काठमाडौं उपत्यकाका आकर्षक नापी कार्यालयबाहेक कहिल्यै उपत्यकाबाहिर गएका छै्रनन् । उनले सेवाग्राहीसँग घुस लिएर बालाजुको बोहराटारमा एक रोपनी क्षेत्रफल जग्गामा भव्य महल बनाएका छन् । हाकिमलाई धम्कयाएर सँधै आकर्षक कार्यालयमा सरुवा हुने उनी एक उदाहरण हुन् । कित्ताकाट रोक्का भएपनि सेटिङमा आनाको १ लाख लिएर धमाधम कित्ताकाट गर्दै आएका सर्वेक्षक (नासु) तहका २०÷२५ जना कर्मचारीहरूले एकाध वर्षमा २० औं करोड सम्पत्ति आर्जन गरेका छन् । त्यसको मारमा जग्गा खरिद गर्ने जनसमुदाय पर्दै आएको छ ।
जग्गा कारोबारीले घुसको रकमसमेत जोडेर जग्गा विक्री गर्ने गरेका छन् । सर्वेक्षक तिवारी पनि २० औं करोडका मालिक भइसकेका छन् । बीचमा अख्तियारले रंगेहात समातेपछि अदालतमा मिलाउन खर्च भएको रकम उठाउन उनी अहिले ललितपुर नापीमा घुस असुली अभियानलाई तीव्रताका साथ अगाडि बढाएका छन् । काज सरुवा भएका उनी दरबन्दी कायम गर्न तल्लीन भएर लागेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै कार्यरत यस्ता घुसखोर सर्वेक्षकहरूको सम्पत्ति अख्तियारले छानबिन गर्ने हो भने डरलाग्दो तथ्य फेला पर्ने स्रोत बताउँछ । सर्वेक्षकले कित्ताकाट माथिल्लो तहका कर्मचारीबाट चेकजाँच गराउनुपर्दछ । तर कार्यालय प्रमुखलाई थाहै नदिई नापनक्सा गरेर तिवारीले ब्रम्हलुट गर्दै आएको तथ्य अख्तियारले खोजी गर्नुपर्ने माग कर्मचारीहरूको रहेको छ । साँघु सप्ताहिकमा खबर छ ।