काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले लामो संघर्षपछि जिल्ला प्रशासन कार्यालय खाँदबारीबाट नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।
मकालु–२ को वडा कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम पुगेकी शेर्पालाई नागरिकता पाउन पनि ७ दिन लाग्यो ।
नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःखकष्ट झेलेकी कान्छीमाले राज्यबाट पाउने कुनै सेवा सुविधा पाएकी थिइनन् । नागरिकता पाएसँगै शेर्पाले बृद्धभत्ता पाइने भन्दै खुसी व्यक्त गरिन् ।
नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान् र छोरी पनि गुमाएपछि उनलाई नागरिकताको प्रमाणपत्र लिन सकस परेको थियो । दुर्गम टासी गाँउमा भिर पहरा डुलेर जीवन विताइरहेकी शेर्पालाई गाउका युवाहरुले नागरिकताको प्रमाण पत्र दिलाईदिन पहल गरेका थिए ।
वडाबाट सर्जिमिन मुचुल्कालगायतका कागजी प्रक्रिया पूरा गरेर आएपछि शेर्पालाई नेपाली नागरिकताको प्रमाणपत्र दिईएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।