काठमाडौं । लगातार संसद अवरोध हुन थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।
सापकोटाले आज दिउँसो साँढे २ बजेका लागि बैठक डाकेका हुन् । बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई बोलाइएको छ ।
सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ ।