काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधकाबीच प्रतिस्थापन विधेयक ल्याएको संसद बैठक आज पनि बस्दै छ । अस्ती शुक्रबार सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएसँगै आज पहिलो पटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।
एमालेको विरोधकाबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट पास गरेको थियो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यस्तै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संसदको सचिवालयले जनाएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ५ वटा अध्यादेश पेस गर्ने कार्यसूची छ । त्यसैगरी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वटा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दुई वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठक दिउँसो १ बजे बस्नेछ । तर आजको बैठकमा पनि अवरोध र नाराबाजी गर्ने प्रतिपक्ष एमालेको तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुले कारबाही गरेका १४ सांसद्लाई पदमुक्त नगरेको भन्दै एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने बताईसकेको छ ।