आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सम्झौता कार्यान्वयनमा लैजान,एमसीसी उपाध्यक्ष सुमारको अर्थमन्त्री शर्मालाई आग्रह

शनिबार, भाद्र २६ २०७८

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले आज अर्थमन्त्री जनादर्न शर्मासँग छलफल गरेकी छन् । सुमार नेतृत्वको टोली अर्थमन्त्रीलाई भेट्न सिंहदरवार पुगेको थियो । अर्थ मन्त्रालयमा भएको भेटमा  आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो । 

सुमारले सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेकाले चाडै सरकारले धारणा बनाउने बताएका थिए ।

अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन्। 

उपाध्यक्ष फतिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दलका नेतासहित अन्य दलका नेताहरुलाई पनि भेटीसकेको छ ।  

अधिकांश नेताले एमसिसीका सम्बन्धमा देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न फतिमासँग आग्रह गरेका छन् ।

एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि  ५० अर्ब रुपैया बराबर लगानी हुनेछ ।

नेपाल सरकारको तर्फबाट  १३ अर्ब लगानी हुनेछ ।