काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।
अर्थ मन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश गर्दै चालु आव २०७८/ ०७९ को राजस्व र आय–व्ययको अनुमानित आय–व्यय परिमार्जनसहित प्रस्तुत गरेका हुन् । पेस गरिएको विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्त्वपूर्ण विषय समावेश रहेको छ ।
प्रतिस्थापन विधेयक मार्फत सरकारले ओली सरकारले ल्याएको बजेटको आकार घटाएको छ ।
सरकारले इन्धन र भ्रमण खर्च १० प्रतिशत कटौती गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश प्रस्तुत गर्दा इन्धन, भत्ता, सवारी लगायत मर्मतमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरिएको बताए ।
कटौतीबाट वचत भएको ५ अर्ब कोरोनाविरुद्धको खोप खरिदमा प्रयोग गरिने शर्माले बताए ।
प्रतिनिधि सभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका बीच अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदले यसअघि झैँ उठेर रोस्टम घेराउ गर्दै बैठक अवधीभर नाराबाजी गरेका थिए ।
संशोधित बजेटको पूर्णपाठ