काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएका ती अध्यादेश सदनको बहुमतले स्वीकृत गरेको हो । यसअघि ती अध्यादेश अस्वीकृत गरियोस् भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रस्तुत गरेको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
नाराबाजीका कारण १५ मिनेट स्थगित भइ सुरु भएको दोस्रो बैठक सभामुख अग्निप्रसाद सापकोटाले प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्ष दलका सांसदले रोस्टम घेराउ गर्दै निरन्तर नाराबाजी जारी राखेका थिए ।
त्यही नाराबाजीका बीचमा सभामुख सापकोटाले आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना पेस गरेका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई बोल्न समय दिएसँगै सदनको कारबाही अघि बढेको थियो ।
अध्यादेशका बारेमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले पुँजी बजारमा गैरकानुनी ढङ्गबाट आफूखुशी मूल्य घटबढ गराउने कुरा सत्य नभएको स्पष्ट पार्दै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा भएको भनिएको अनियमितताको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए ।
सदनमा अध्यादेश पेस र स्वीकृतको क्रम चलिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट निरन्तर नाराबाजी भइरहेको थियो ।
प्रतिनिधि सभाको दोस्रो बैठक पनि फेरि १५ मिनेटका लागि स्थगित भएर सुरु भएको थियो ।
बैठकको अन्त्यमा शोक प्रस्ताव पारित गर्दै पर्सी आईतबार बस्ने गरि आजको बैठक सकिएको छ ।