काठमाडौं । कार्यसम्पादन मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०७७/७८ मा झापा, अर्घाखाँची र रुकुम (पूर्व )मुलुकभरका ७७ जिल्लामध्ये अति–उत्कृष्ट अङ्कसहित प्रथम भएका छन् । गृहमन्त्रालयद्वारा सार्वजनिक नतिजाअनुसार ललितपुर र रुकुम ( पश्चिम )उत्कृष्ट कार्यसम्पादनसहित दोस्रो तथा गृल्मी जिल्ला तेस्रो भएका छन् । अन्य ११ जिल्ला भने उत्कृष्ट कार्य सम्पादनस्तरमा रहेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
मन्त्रालका अनुसार १८ जिल्ला उत्तम, २१ जिल्ला मध्यम र २१ जिल्ला न्यून कार्य सम्पादनस्तर भएको जिल्लाको सूचीमा परेका छन् ।
मन्त्रालयले विभिन्न छ वटा विषयगत क्षेत्र तोकेर कार्यसम्पादन सम्झौता गरेको थियो । शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागू औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय, सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनको मापन गरिएको थियो ।
गृह मन्त्रालयले २०७५ देखि सचिव र प्रजिअबीच कार्य सम्पादन सम्झौता गरी वार्षिक मूल्याङ्कन गर्दै आइरहेको छ । सोही मूल्याङ्कनका आधारमा जिल्लालाई अति उत्कृष्ट, उत्कृष्ट, मध्यम र न्यूनस्तर भएका जिल्ला घोषणा गरिदै आईएको छ ।