काठमाडौं । एमसीसी सम्झौता कार्यान्वयनका लागि छलफल गर्न अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आईपुगेको छ ।
सुमार नेतृत्वको टोली विहान सवा ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्लथलमा अवतरण गरेको नागरिक उड्यन प्राधिकरणले पुष्टि गरेको छ ।
चार दिने नेपाल भ्रमणका लागि सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली नेपाल आएको हो । एमसीसीको पक्ष र विपक्षमा जनमत विभाजित भएकाले काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सुमार आउने बेला विमानस्थल परिसरमा पत्रकारलाई समेत निषेध गरिएको थियो।
केही राजनीतिक दल र सामाजिक संस्थाले पछिल्लो केही दिनदेखि एमसीसीको विरोधमा प्रदर्शन भइरहेकाले उनको कार्यतालिका समेत गोप्य राखिएको छ ।
सम्झौता कार्यान्वयनका लागि नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने प्रावधान छ। संसदमा टेबुल भए पनि यसबारे छलफल हुन सकेको छैन। सरकारसँग भएको सम्झौता अनुसार एमसीसी सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने थियो ।
चार वर्ष पुग्नै लाग्दा पनि एमसीसीसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु संसद अधिवेशनबाट एमसीसी पारित गर्ने तयारी गरे पनि गठबन्धन दलहरुभित्रै यसबारे विवाद देखिएको छ ।
नेपालमा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न पाँच सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ५५ अर्ब रुपैयाँ अनुदान पाउने गरी नेपाल सरकार र अमेरिकी एमसीसीबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो ।