आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज व्रतसहित भगवान महादेवको पूजा आरधना गरि मनाईदै

बिहिबार, भाद्र २४ २०७८

काठमाडौं । हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

कोरोना संक्रमण को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले आग्रह गरेका छन् । सकेसम्म घरमै मनाउन र भौतिक दूरी कायम गर्न उनीहरुको आग्रह छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तीजको शुभकामना व्यक्त गर्दै स्वास्थ्य मापदण्ड पालनासहित हरितालिका तीज मनाउन अनुरोध गरेका छन् ।

यसैबीच यसवर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । भोलिदेखि मात्र पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ ।

आज पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन जान पाउने कोषका सदस्य सचिव डाक्टर मिलनकुमार थापाले बताए ।  पशुपतिनाथबाहेकका अन्य धेरै मन्दिर भने यसअघि नै खुलिसकेका छन् ।