काठमाडौं । पछिल्लो २४ घण्टामा १३ हजार चार सय ५५ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ४० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १२ दशमलव १८ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो एक सातादेखि संक्रमण दर घट्दै गएको बताउदै आएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५९ हजार पाँच सय ३५ पुगेको छ ।
त्यस्तै मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३३ हजार एक सय ६१ पुगेको छ । यस्तै गम्भीर बिरामीको सङ्ख्यामा पनि कमी आएको छ । अहिले चार सय ८८ जनाको आईसीयू र एक सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार चार सय ७९ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा तल झरेको छ ।
यही अवधिमा थप १० जनाले ज्यान गुमाएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ८९ पुगेको छ ।