काठमाडौं । सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले कोइरालाका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनगणना २०७८ को संसोधित कार्यतालिका स्वीकृत गरेको छ। यसैगरी निजामती दिवसका अवसरमा ४० जना निजामतीलाई पुरस्कार दिने पनि निर्णय गरेको छ।
सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट साढे ११ अर्ब रुपैयाँ सहुलियत ब्याजको ऋण लिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि पाँच अर्ब ५४ करोड रुपैयाँ र नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि पाँच अर्ब ९४ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
जलवायु परिवर्तन सम्बन्धी अनुकुल कार्य गठबन्धन तथा सो निर्देशक समितीमा नेपाल सदस्यका रुपमा सहभागी हुन स्वीकृत गरेको छ।