काठमाडौं । पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुलबजार खण्डमा पानीको बहाव घटेपछि झण्डै १० घण्टापछि सो क्षेत्रमा यातायात आवागमन सुरु भएको छ ।
पुलबजार डुबानमा परेको कारण आज बिहान २ः०० बजेदेखि अवरुद्ध भएको सडकखण्ड खोलामा पानीको बहाव घटेसगै केहिबेर अघिदेखि यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ । गएरातिदेखि परेको भारी वर्षाका कारण नालाहुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुलबजार क्षेत्र डुबानमा परेको थियो । बिहान २ बजेदेखि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत बनेपा खण्डमा यातायात ठप्प भएको हो ।
खोलामा आएको बाढीले बनेपा नगरपालिका– ९ र १० को सिमानामा पर्ने पुलबजार क्षेत्रको पुललगायत बजार क्षेत्र नै पूरै डुबानमा परेका कारण चल्न नसकेको यातायातका साधन अहिले सञ्चालन हुन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।