काठमाडौं । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका -२ लुलाङमा बाढीले लघु जलविद्युत् परियोजनाको ( पावरहाउस) विद्युतगृह बगाएको छ । गएराति परेको ठूलो वर्षासँगै दरखोलामा आएको बाढीले लघु जविद्युत पावरहाउस बगाएको हो ।
वर्षासँगै खोला उर्लिएर आएको बाढीले ४२ किलोवाट क्षमताको दोस्रो दरखोला लघु जलविद्युत् परियोजनाको विद्युत् गृह, बाँध र नहर बगाएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताईन् । उनले दरखोलामा आएको बाढीले कटान गर्दा परियोजनाको संरचनाहरु बगाएको बताईन् ।
बाढीले खबाङको दोभानमा रहेको बाँध, पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा रहेको पावरहाउसमा क्षति पुर्याएको धवलागिरि गाउँपालिकाले जनाएको छ । यसअघि २०७२ सालमा पनि जुगेपानीमा आएको पहिरोले विद्युत् गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना सारिएको थियो भने पछि २०७६ सालमा एक करोड ५० लाख बढीको लागतमा परियोजना बनाइएको थियो ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ८५ लाख र धवलागिरि गाउँपालिकाले ५० लाख रुपैयाँको लगानीमा जलविद्युत् परियोजना निर्माण गरिएको थियो । स्थानीय उपभोक्ताले झण्डै २० लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।
बाढीले जलविद्युत् परियोजना बगाएपछि लुलाङका ३ सय ७८ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । यसैगरी क्षतिको विवरण सङ्कलनका साथै थप जोखिमको आकलन गर्न जनप्रतिनिधि र उपभोक्ता समिति घटनास्थल गएको जनाइएको छ ।