आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

स्वास्थ्यवीद भन्छन् – विद्यालय खोल्न हतार नगरौ, दसै तिहार पछि अवस्था हेरेर निर्णय गरौ !

शुक्रबार, भाद्र १८ २०७८

काठमाडौं, भाद्र १८ । स्वास्थ्यवीद्हरुले विद्यालय संचालनमा हतार नगर्न सुझाव दिएका छन् । काठमाडौं उपत्यकामा विद्यालय सञ्चालनको तयारी भइरहँदा विज्ञहरूले भने अहिले बेला नभएको बताएका हुन् । उपत्यकाका तीन वटै जिल्लाका सिडिओको बैठकले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सकिने आदेश जारी गरेसँगै उपत्यकामा विद्यालय खोल्ने तयारी गरिएको छ । 

प्रशासनले विद्यालय संचालनको अनुमति दिने तयारी गरिरहदा विज्ञहरुले उपत्यकामा अहिले नै विद्यालय खुलाउनु हतार हुने बताएका छन् ।  संक्रमणको जोखिम कायमै रहेको भन्दै भाइरोलोजिष्ट डा. लुना भट्टले अहिले फैलिरहेको भेरियन्ट पहिलाको भन्दा फरक भएकाले भोलि बालबालिकालाई तलमाथि भयो भने झन् ठुलो समस्या हुने बताईन् । विद्यालय  भिडभाड हुने क्षेत्र भएकाले बालबालिका उच्च जोखिममा पर्ने उनको भनाई छ ।  बालबालिका खोप नपाउने उमेर समूहमा पर्ने भएकाले उपत्यकामा विद्यालय खुलाउनका लागि अझै दुई चार महिना संक्रमणको अवस्था हेर्नुपर्ने डा. भट्टको तर्क छ।

उनका अनुसार कम्तीमा दसैं र तिहारसम्म संक्रमणको अवस्था हेर्ने र त्यसपछि संक्रमणको अवस्था घट्दो क्रममा रहे विस्तारै विद्यालय खोल्न सकिने छ ।  अहिले पनि दैनिक झन्डै दुई हजार नयाँ संक्रमित देखिरहेको भन्दै यस्तो अवस्थामा अहिले नै विद्यालय खोल्न हतार नगर्न भट्टको सुझाव छ ।  

अर्का भाइरोलोजिष्ट डा वासुदेव पाण्डे पनि उपत्यकामा अहिले नै विद्यालय खोल्ने विषय अपरिपक्व हुने बताउछन् ।  अहिले संक्रमणको ठ्याक्कै अवस्था कस्तो हो भनेर थाहा नभएको भन्दै उनले यस्तो बेलामा विद्यालय खोल्ने कुरा हाई रिस्क हुने बताए ।  

उनका अनुसार बच्चाहरूमा भाइरस डबल म्युटेसन भएर नयाँ भेरियन्ट देखिने जोखिम छ ।

उनले पनि विद्यालय खुलाउने कुरा कम्तीमा दसैं तिहारपछि निर्णय गर्न सकिने बताए ।