बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

महिला अधिकारको माग गर्दै अफगानिस्तानमा महिलाहरु सडकमा उत्रिए, सरकारमा महिलालाई सहभागी गराईने तालिवानको भनाई

शुक्रबार, भाद्र १८ २०७८

काठमाडौं, भाद्र १८ । अफगानिस्तानको पश्चिम क्षेत्रस्थित हेरातमा महिला अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै प्रदर्शन भएको छ । तालिवानले नयाँ सरकारको गठनको गृहकार्य गरिरहेका बेला हेरातमा ६० भन्दा बढी महिलाले सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । 

महिलाप्रति कठोर रहेको तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि महिला आफैं सडकमा उत्रिएर गरेको यो पहिलो प्रदर्शन हो ।

अन्तर्राष्ट्रिय वृत्तमा समेत तालिवान नियन्त्रित अफगानिस्तानमा महिला र बालिकाको अबको अवस्थालाई लिएर चिन्ता बढीरहेको बेला पछिल्लो प्रदर्शन भएको हो । यद्यपी तालिवानले भने नयाँ बन्ने सरकारमा महिलाहरुलाई पनि स्थान दिने बताउदै आएको छ । 

यसैबीच

संयुक्त राष्ट्रसंघले अफगानिस्तानले चरम खाद्य संकटको सामाना गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएको छ । राष्ट्रसंघले अफगानिस्तानका ३ जनामध्ये कम्तीमा एक व्यक्ति भोकमरीबाट गुज्रिरहेको भन्दै केही महिनाभित्रै यसको भयावह स्वरुप देखा पर्ने बताएको हो ।

 अफगानिस्तानका अधिकांश बालबालिकाले अहिलेदेखि नै भोकमरीको सामना गर्नुपरेको भन्दै राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण समेत गराएको छ । 

पछिल्लो राजनीतिक परिवर्तन र लामो हिंसाका कारण अफगानिस्तानमा मूल्यवृद्धि भएको, कयौंले रोजगारी गुमाएको र कतिपय क्षेत्रमा खडेरीका कारण कृषि क्षेत्र धरासायी भएका कारण पनि खाद्यन्न संकट चुलिने राष्ट्रसंघको भनाई छ ।