काठमाडौं, भाद्र १७ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले वडा अधिवेशनको अघिल्लो दिनसम्म पनि भावि नेतृत्वकालागि साझा उम्मेद्वार तय गर्न सकेको छंन । गुटभित्रै पनि चर्को प्रतिष्पर्धा झेलिरहेको यो समूहले आज साझा उम्मेद्वार सार्वजनिक गर्ने बताएको थियो ।
सभापतिका आकांक्षीलाई दायाँबायाँ राखेर बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै आगामी महाधिवेशनमा आफ्नो खेमाबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुने आश्वासन दिएका छन् ।
समुहबाट एकल उम्मेदवारको चयनका लागि श्रृंखलावद्ध छलफल भए पनि सहमति नजुटिरहेको बेला वरिष्ठ नेता पौडेल, डा शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले एउटै मञ्चबाट आफूहरु एकै ठाउँमा रहेको बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले आफूहरुबीच कुनै खटपर र मतभेद नरहेकाले सहमतिमै सभापतिको उम्मेद्वारको घोषणा गर्ने दाबी गरेपनि अन्य आकांक्षीहरु भने मौन बसेका थिए ।
यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा शेखर कोइराला सभापतिको आकांक्षी हुन् । पछिल्ला दिनहरुमा यो समुह लगातार छलफलमा जुटेपनि सभापतिमा एउटै उम्मेदवार दिने भन्दै आफ्ना कार्यकर्तालाई थामथुम पार्ने रणनीतिमा देखिन्छ ।
उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ र अर्का केन्द्रीय सदस्य कल्याण गुरुङ्गले औपचारिकरुपमै सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन् ।