काठमाडौं, भदौ. १३ । ९१ प्रतिशतको हाराहारीमा सरकारी लगानी रहेको दुरसञ्चार प्रदायक सेवा कम्पनी नेपाल टेलिकम यतिबेला घाटाको यात्रामा रहेको छ । तर, कर्मचारीहरु भने ४० यतादेखि आफ्नै लाभका माग लिएर आन्दोलनमा उत्रिएका छन् ।
टेलिकम नाफामा जान नसक्नुको कारण त्यहाँका कर्मचारीले अनुशासित भएर काम नगर्नु हो । कर्मचारीले समयमै काम नसकेका कारण फोर जि सेवा देखि एफटिटिएच बिस्तार अहिलेसम्म काम सकिएको छैन ।
ग्राहकको मागअनुसार इन्टरनेटसहित सेवाप्रदान गर्न नसक्दा प्रतिग्राहक आम्दानी घट्दै गएको महालेखा परिक्षक कार्यालयले जनाएको छ । कम्पनीले नयाँ प्रविधिको प्रयोग र समयमै योजना कार्यान्वयन गरेर ग्राहकको चाहना र माग अनुसारको सेवा विस्तार गरी आम्दानी गर्नुपर्ने देखिन्छ । तर यो विषयमा टेलिकमले पर्याप्त ध्यान पुर्याउन नसकेकाले आम्दानीमा गिरावट आएको महालेखापरिक्षक कार्यालयको भनाई छ ।
निजी क्षेत्रका टेलिकम कम्पनीहरु आक्रामक व्यवसाय गरिरहेका बेला नेपाल टेलिकम भने आफ्नो व्यवसायिक क्षमता दिनानुदिन घटाएर बजार हिस्सा गुमाउन थालेको छ ।
टेलिकममा ९१.५ प्रतिशत सरकारको, ०३ प्रतिशत नागरिक लगानी कोषको र ८.४७ प्रतिशत सर्वसाधारणको सेयर लगानी छ ।
नेपाल टेलिकमले आर्थिक वर्ष २०७४÷०७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएको थियो । जुन अहिले घटेर ७ अर्ब ४५ करोडमा सिमित भएको छ । यो नाफा एक दशकयताकै कम नाफा हो ।
टेलिकमले आर्थिक वर्ष २०६९÷७० मा ११ अर्ब २९ करोड, २०७०÷७१ मा ११ अर्ब ५५ करोड, र २०७१÷७२ मा १४ अर्ब ५६ करोड नाफा कमाएको थियो । त्यसैगरि २०७२÷७३ मा १३ अर्ब ६८ करोड , २०७३÷७४ मा १५ अर्ब ३७ करोड र २०७४÷७५ मा १७ अर्ब ४८ करोड, २०७५÷७६ मा १० अर्ब र २०७६÷७७ मा ९ अर्ब नाफा कमाएको थियो ।
अघिल्लो आर्थिक वर्षसम्ममा नेपाल टेलिकमको खुद नाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ बराबर र संचित नाफा ४६ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ बराबर रहेको देखिन्छ । टेलिकमले गरेको लगानीतर्फ ऋण लगानीमा ११ अबर्
४५ करोड ४ लाख, सेयर लगानी १ अर्ब ६३ करोड ५९ लाख र अन्य लगानीतर्फ ४३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ बराबर छ ।
टेलिकमले सरकारलाई तिर्न बाँकी लाभांश ६ अर्ब १७ करोड ५७ लाख रुपैयाँ बराबर देखिन्छ । त्यस्तै विभिन्न शीर्षकमा सरकारलाई तिर्न बाँकी कर ११ अर्ब ९८ करोड ४८ लाख रुपैयाँ बराबर रहेको छ ।
टेलिकममा स्थायी ४ हजार ७९ र करार २ गरी ४ हजार १६१ जना कर्मचारी छन् । टेलिकमका २ करोड ८ लाख ६३ हजार ५ सय ५१ जना ग्राहक छन् । जीएसएम सेवाका प्रयोगकर्ता १ करोड ९७ लाख ३ हजार छन् । २ करोड ७ लाख भ्वाइसलको सेवा प्रयोग गर्ने टेलिकम बताउँछ ।