काठमाडौं, भाद्र १० । एमाले विभाजनसगै परिवर्तित प्रदेश राजनीतिको असर प्रदेश १ मा पनि परेको छ । भर्खरै वाग्मती प्रदेशमा भएको सरकार परिवर्तन जस्तै प्रदेश १ मा पनि आज सरकार परिवर्तनको खेल सुरु भएकोे छ । यसकालागि आज
मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिने संभावना बढेको छ ।
आज दिउँसो ११ बजे बोलाईएको नेकपा एमाले संसदीय दलको बैठमा राइले एमाले संसदीय दलको नेताबाट राजिनामा दिने तयारी गरेको बुझिएको छ । सोही बैठकले अर्का एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने एमालेको तयारी छ ।
संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आजै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी पनि भइरहेको छ ।
९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि अहिले त्यो संख्या कम रहेको एमालेको बुझाई छ ।
यद्यपी प्रदेश र स्थानीय तहकालागि दल रोज्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ । यसअघि माधव नेपाल समूहमा रहेका आचार्यलाई मूख्य मन्त्री बनाएर एमालेले वाग्मती प्रदेशको अभ्यासलाई त्यहा पनि दोहोर्याएको हो । वाग्मती प्रदेशमा पनि एमालेले माधव नेपाल समूहमा रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मुख्य मन्त्री बनाएको छ ।