काठमाडौं, भाद्र ७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आज मध्य राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमले जनाएको छ । डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।
अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढेर १ हजार ४५० कायम भएको छ।
इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य समायोजन गरेको थियो ।
मूल्य समायोजन गरिए पनि निगमलाई अझै पेट्रोलमा प्रति लिटर ८ रुपैया ४२ पैसा , डिजेलमा प्रति लिटर २ रुपैया ६४ पैसा तथा ग्यासमा प्रति सिलिण्डर ४२० रुपैया ७५ पैसा घाटा रहने निगमको दाबी छ ।
अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन भइरहदा निगमले आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य बढाउनु पर्ने उपाध्यायको भनाइ छ ।