आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज साढे ५ लाख बढी अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो , यो सगै जापानबाट १६ लाख बढी खोप अनुदान सहयोग

सोमबार, भाद्र ७ २०७८

काठमाडौं, भाद्र ७ । जापान सरकारले अनुदानमा दिने भनेको सबै खोप नेपाल आइसकेको छ । कोभ्याक्स सुविधा अन्तर्गत जापानले उपलब्ध गराएको १६ लाख भन्दा बढी अस्ट्राजेनेका खोप नेपालले पाएको हो । जापानले नेपाललाई  १६ लाख १४ हजार ७४० डोज खोप अनुदानमा सहयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

आज पाँच लाख ५९ हजार डोज खोप आएसगै जापानबाट प्राप्त हुने सबै खोप नेपाल ल्याइएको मन्त्रालयको  आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए। पाँच लाख ५९ हजार डोज खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत ल्याइएको हो ।

यसअघि शनिबार सवा २ लाख डोज खोप ल्याइएको थियो । गत साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाडौं आइपुगेको थियो ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप आइसकेको छ । सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य लिएको छ । अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ जनाले पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० जनाले पूर्णं डोज खोप लगाइसकेका छन्।