काठमाडौं, भाद्र ६ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् ।
नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम ‘गुन्हुपुन्ही’ रहन गएको इतिहासविद्को भनाइ छ । गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरि गेडागुडीको मिश्रण क्वाँटी खाने प्रचलन छ ।
यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा पनि क्वाँटी खाने प्रचलन चलेको बताइएको छ । त्यस्तै तराईमा
महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र डोरा, धागो बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला क्षेत्र आज राखीमय देखिएको छ ।
बिहानैदेखि त्यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र किन्न बस्तीका चोकचोकमा भीड देखिएको छ ।
पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यस पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् ।