काठमाडौं, भाद्र ५ । एमालेसग छुट्टिएर नेकपा एकीकृत समाजवादी दर्ता गराएका माधवकुमार नेपालले नया पार्टी खोले पनि एमालेसगको एकता कायमै रहने बताएका छन् । एमाले नेतृत्वका कारण पार्टी पुनर्गठन गर्ने अवस्था आएकाले नया पार्टी खोल्नु परेको नेपालको स्पष्टिकरण छ । पार्टीका जनसंगठनहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गराउन बाध्य पारेको आरोप लगाएका छन् ।
पार्टी एकताका लागि जति लचिलो हुँदा पनि ओलीले अटेर गरेको र एकतर्फी पेल्ने, आरोपित गर्ने र पार्टीमा ठाउँ छैन भन्ने गरेकाले आफुहरुसग तत्कालका लागि छुट्टिनुको बिकल्प नरहेको नेता नेपालले बताए । अध्यक्ष ओली पार्टी बचाउन एक इन्च पनि लचक नभएकाले परिस्थिती बदलिएको उनको भनाइ छ ।
‘अब पार्टीलाई पुनर्गठन गर्नुपर्ने बेला आएको छ,’ नेता नेपालले भने‚ ‘नेपाल कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाउँदै अघि लैजाने, विचार मिल्नेसँग सहकार्य गर्ने बेला आएको छ । तत्कालै कुनै पार्टीसँग एकता गर्ने कुरा छैन । सहकार्यमात्र हुन्छ ।’ आफूहरूले नयाँ पार्टी बनाए पनि एमालेसँग विचार मिलेमा एकताको ढोका सधैँ खुला रहने उनले बताए ।
पार्टी खुलेको एक हप्तामै वा महिनामै वा चुनावअघि वा चुनावपछि पनि एकता हुन सक्ने भन्दै उनले एमालेसग कुनै मनमुटाव नभएको बताए । उनले ओली सुध्रिए एमालेसग चुनावी गठबन्धन पनि गर्न सकिने बताए ।
नेता नेपाल पछिल्लो समय पार्टी संगठन निर्माणका लागि स्थानीय नेता कार्यकर्तासगको संवादमा ब्यस्त रहदै आएका छन् ।