काठमाण्डौं, भाद्र ४ । संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नेप्सेका पदाधिकारीले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।
सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यको नाममा खरिद गरेर पदीय आचरण विपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो ।
नियामक निकाय आफैँले पदीय मर्यादा विपरीत शेयर कारोबार गरेकाले तत्काल छानबिन गरी उनीहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।
बैठकमा समितिका सदस्यहरूले पुँजी बजारको नियामक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए । समितिकी सदस्य रामकुमारी झाँक्रीले नेपाल धितोपत्र बोर्ड र नेप्से जस्तो पुँजी बजारको नियामक निकायलाई पारदर्शी र जवाफदेही बनाउने गरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । उहाँले बोर्ड र नेप्सेका पदाधिकारीलाई पदमा बहाल रहुन्जेल पुँजी बजारमा कारोबार गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न ढिलाइ गर्न नहुनेमा पनि जोड दिएकी छन् ।