आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेबिरुद्ध षडयन्त्र नगर्न सभामुखलाई एमालेको चेतावनी, तत्काल कारबाहीको सूचना टास गर्न माग

शुक्रबार, भाद्र ४ २०७८

काठमाडौं, भाद्र ४ । पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाहीको कारबाहीको सूचना टास गर्न एमालेका सांसदले सभामुख अग्नी सापकोटामाथि दबाब बढाएका छन् ।

प्रमुख सचेतक विशाल भट्टराइसहित दर्जनबढि सांसद हिजो कार्यकक्ष पुगेरै सापकोटालाई दबाब दिएको भोलिपल्ट आज एमालेको अर्को समूह सभामुखको कार्यालय गएको हो ।  

सचेतक शान्ता चौधरीसहितका सांसद सिंहदरबार पुगेर सापकोटालाई सूचना टासमा भइरहेको ढिलाइबारे दबाब दिएका थिए ।  तर
कार्यकक्षमा सभामुख सापकोटालाई नभेटेपछि उनीहरुले एक घण्टाजति  कुरेर बस्दा पनि सभामुख सापकोटा नआएपछि एमाले सांसद आक्रोशित भएका छन् । फोनमा सभामुख सापकोटाले आज आफु अर्कै कार्यक्रममा व्यस्त हुने भएकाले कार्यालय नआउने जवाफ फर्काएका थिए ।

सभामुखको जवाफबाट आक्रोशित सचेतक चौधरीले सभामुख एमालेलाई विभाजन गर्ने षडयन्त्रमा लागेको आशंका गर्दै सूचना टासमा ढिलाइ गरेर सभामुखले विश्वसनियता गुमाउन नहुने बताईन् ।   पार्टीले कारबाही गरेको व्यहोरोको पत्र प्राप्त भएको १५ दिनभित्र संसदमा जानकारी गराउने अथवा संसद बन्द रहेका बेला सूचना टाँस गर्नुपर्ने हुन्छ।

तर सभामुख सापकोटा नयाँ दल दर्ता हुन समय दिएर एमालेले गरेका कारबाही निष्प्रभावी पार्ने षडयन्त्रमा लागेको आरोप एमालेले लगाएको छ।

यसअघि हिजो एउटा कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले माओवादी कार्यकर्ताका रुपमा प्रस्तुत भएर एमालेविरुद्ध षड्यन्त्र नगर्न सभामुख सापकोटालाई चेतावनी दिएका छन्।