काठमाण्डौं भाद्र ३ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साझ बसेको मन्त्रिपरिषद् बैठकले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका शर्मालाई महारथीमा पदोन्नति गरेर प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।
अवकासभन्दा एक महिना पहिले बिदा बस्ने प्रचलन अनुसार थापा साउन २५ देखि बिदा बस्नुभएको छ । त्यसयता शर्माले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालिरहनुभएको छ । उहाँको कार्यकाल तीन वर्षको हुनेछ ।
सरकारले यस वर्ष गाईजात्रा पर्वको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । यसअघि गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक बिदा दिने गरिएको थियो । तराई मधेश द्रुत मार्गको लागि आवश्यक मकवानपुरको तालभैरव र गौरीशंकर क्षेत्रको वन हटाउन स्वीकृती दिने निर्णय पनि भएको छ ।