आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले विभाजन भएसगै प्रदेश एकको सरकार पनि संकट उन्मुख

बिहिबार, भाद्र ३ २०७८

नेकपा एमाले विभाजनसगै प्रदेश राजनीतिमा देखिएको उथलपुथल अहिले प्रदेश नम्बर १ मा उचालिएको छ । निर्वाचन आयोगले माधव नेपालको पार्टीलाई बैधानिकता दिएको अवस्थामा प्रदेश एकका मुख्यमन्त्री  शेरधन राईलाइ संकट पर्ने देखिएको छ ।   

माधव कुमार नेपाल पक्षले एमालेबाट विद्रोह गर्दै एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा एमालेका ७ जना सांसद प्रस्तावित नयाँ दलतर्फ लागेका छन् ।

एमाले समाजवादीको पक्षमा खुल्ने सांसदहरूमा राजेन्द्रकुमार राई, राजन राई, होमकुमारी सावा, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई र गणेशकुमार काम्बाङ्ग  छन् । जम्मा ९३ जना सांसद रहेको प्रदेश १ मा दुईजना कारवाहीमा परेपछि हाल ९१ सदस्य  छन् । 
हाल एमालेका सभामुखसहित ५०, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका ३ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् ।

स्पष्ट बहुमतमा रहेको दल एमाले विभाजन भएपछि मुख्यमन्त्री राईको पद संकटमा पर्ने देखिएको हो ।

प्रस्तावित एमाले समाजवादीतर्फ लागेका ७ जना निर्णायक अवस्थासम्म कायम रहेमा विपक्षी गठबन्धनमा स्पष्ट बहुमत पुग्ने देखिन्छ । बहुमत प्राप्त दल एमाले भने अल्पमतमा झर्नेछ ।

सरकार गठनका लागि ४६ जनाको समर्थन चाहिन्छ । कांग्रेस, माओवादी र जसपा जोड्दा ३९ हुन्छ । प्रस्तावित एमाले समाजवादीमा ७ जना सांसद खुलेमा विपक्षी गठबन्धन बहुमतमा पुग्ने देखिन्छ ।

अर्कातर्फ एमालेलाई भने माधव नेपालको पक्षमा लागेका ७ मध्ये कम्तिमा ४ सांसद फर्काउनुपर्ने हुन्छ वा २ सांसदलाई फर्काएर साना दुई दलको समर्थन लिनुपर्ने हुन्छ । सभामुख एमालेको भएकाले उनीसँग सामान्य अवस्थामा मताधिकार हुँदैन ।

एमालेले पार्टी विभाजनको क्षति कम गर्न भीम आचार्यलाई मुख्यमन्त्री बनाउने विषयमा समेत छलफल गर्दै आएको छ ।

लामो समय माधव नेपाल खेमामा रहेका आचार्यलाई मुख्यमन्त्री बनाउँदा नेपाल पक्षका केही सांसद फर्काउन सकिने एमालेको विश्वास छ ।

एमाले फुट्नुअगाडि नै प्रदेश १ को सरकार परिवर्तनका लागि माओवादी तथा कांग्रेसले पहल गरेपनि भीम आचार्य एमालेमै रहने संकेत पाए पछि पछाडि हटेका थिए ।

शुरूमा भीम आचार्य माधव नेपाल समूहबाट मुख्यमन्त्रीका आकांक्षी थिए ।

भीम आचार्यले साथ छाडेपछि प्रस्तावित एमाले समाजवादीले राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने तयारी गरेको छ । 

कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ । कांग्रेस संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्रीका आकांक्षी छन् ।