काठमाण्डौं, भाद्र ३ । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव १ डिग्री र अधिकतम तापक्रम २८ दशमलव २ डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ ।