काठमाण्डौं, भाद्र ३ । राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारि भएको भोलिपल्टै अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट पर्ने क्रम सुरु भएको छ । सरकारले राजनीतिक दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याएको भन्दै झण्डै आधा दर्जन रिट परेको सर्वोच्चले जनाएको छ ।
अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध सर्वोच्चमा रिट पेश गर्नु भएको हो ।
अध्यादेश जारी भएलगत्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसक्नु भएको छ । संसदलाई छलेर गैरसंवैधानिक र अलोकतान्त्रिक रुपमा अध्यादेश ल्याएर राजनीतिक अस्थिरता बढाउनु खोजेको आरोप रिटमा लगाइएको छ ।
सरकारले ल्याएको अध्यादेश सर्वोच्च अदालतका पछिल्ला फैसला विपरीत भएको जिकीर पनि गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदबाट उक्त अध्यादेश पारित गराई हिजो राष्ट्रपतिबाट जारी गराउनुभएको थियो ।