काठमाण्डौं, भाद्र ३ । दक्षिणी रसुवाको कोलडाँडामा पहिरोले एउटा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।निरन्तरको वर्षापछि आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा गएराती श्यामबहादुर घलानको घर परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
पहिरोमा परी श्यामबहादुरकी श्रीमती ३२ वर्षीया कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आशिष घलानको पुरिएका हुन् । पुरिएकामध्ये श्यामबहादुरकी श्रीमती कमला र दुई बच्चाको शव फेला परिसकेको र अर्को एक जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । घाइते श्यामलाइ उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणमा पर्छ ।