काठमाडौँ l पछिल्लो समय सूचना प्रविधिको विकासँगै विभिन्न संघ–संस्थाहरूमा भएको बेथिती, असमानताहरू सञ्चार माध्यमहरूमा धेरै नै आउन थालेका छन् । नेपालको पुरानो इतिहास बोकेको मुलुकको मेरुदण्डको रूपमा रहेको र आफ्नै शान कायम गर्दै आएको अनुशासित संस्था एक–दुई जनाको स्वार्थका कारण बद्नाम हुँदै आएको छ । नेपाली सेनाजस्तो गरिमा बोकेको संस्थाको विरुद्ध आक्षेपहरू लाग्दा हामीलाई पीडा हुन्छ । तर संस्थाभित्रका स्वार्थलिप्त व्यक्तिहरूका विरुद्ध बोल्न हामी बाध्य भई सञ्चार माध्यमको सहारा लिनुपर्ने अवस्था छ ।
हामीलाई पनि नभएको कुरा लेखेर समय खेर फाल्न रहर हुँदैन । हाम्रो गुनासो भनेको संस्थामा सुधार होस्, गलत गर्नेहरू कारबाहीमा परुन्, सेनामा कसैलाई काखा कसैलाई पाखा नहोस्, संस्था पवित्र संस्था बन्न सकोस् भन्ने हो । जबसम्म संस्था सुधारतर्फ लाग्दैन, हाम्रा कुराहरू सुनुवाई हुँदैन तबसम्म औंल्याउँदै जाने हो । सैनिक विद्यालय र अस्पतालमा गरिने विभेददेखि सैनिक आवासमा सहुलियतमा बस्ने कुराहरू साधारण होइनन् । यी सबै कुराले संस्थामा जोडिएका नेपाली सेनाहरूसँग प्रत्यक्ष सम्बन्ध राख्छ । यी साधारण कुराहरू हुन् भनेर चीफसाबले बेवास्ता नगर्नुहोला, यस्ता कुराहरूले गर्दा संस्थालाई नै बद्नाम गराउन सक्दछ ।
नीतिगत तहमा बसेकाहरूले पुरानै पारामा संस्था चलाउन खोज्ने हो भने जमाना परिवर्तन भइसकेको छ । अब पीडितले आफ्नो गुनासो पोख्न पाउँछन् । सानोतिनो कराहरूमा सुधार गर्दै जानु होला । नेपाली सेनाले दिएको सुविधा नेपाली सेनाका सबैले पाउनुपर्छ । कसैलाई काखा कसैलाई पाखा गर्नेलाई कारबाही गर्नुपर्छ । बिरालाो बाँध्ने चलन अब हटाउनुपर्छ । आफ्नो कार्यकाल सकियो अरूले जे सुकै गरोस् भन्ने भावना हटाउनुपर्ने सुझाव अहिलेका र अब हुने चीफ साबलाई पनि हाम्रो अुनरोध छ । – भूपू नेपाली सेना साँघु