प्रतिनिधिसभामा सांसदले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदले उक्त घटना भएको लामो समय बित्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै आपत्ति जनाउनुभयो ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएको घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति र परिवारलाई रोजगारी दिन तथा त्यहाँका सबै क्षेत्रमा तत्काल पुल निर्माण गरी असुरक्षित यात्राको अन्त्य गर्न माग गर्नुभयो । उहाँले दार्चुला–तिंकर सडक यथाशीघ्र निर्माण गर्न पनि माग गर्नुभएको छ ।
कांग्रेसका अर्का सांसद डा डिला सङ्ग्रौलाले गोरखा सैनिक न्याय माग्दै बेलायतमा आमरण अनशनमा बसेको जानकारी गराउँदै उनीहरुको जीवनरक्षाका लागि कूटनीतिकरूपमा पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । सोही पार्टीका सांसद दिव्यमणि राजभण्डारीले अनियमिता र भ्रष्टाचार नियन्त्रणमा लागि विशेष समिति बनाई छानबिन गरेर कारबाही गर्न माग गर्नुभयो ।
कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ऐतिहासिक धरहरा उद्घाटन भयो, तर चढ्न पाइन्न, मेलम्ची खानेपानी उद्घाटन भयो तर खान पाइन्न, अपर तामाकोशी उद्घाटन भयो तर बत्ती बाल्न पाइन्न, सुस्ता सुस्ता चर्चा चल्छ तर झोलुङ्गे पुलबाट हिँड्न पाइन्न, त्रिवेणीधाम बाल्मीकि आश्रम जाने झोलुङ्गे पुल शिलान्यास भयो तर छ वर्ष हुँदा पनि पुल हेर्न पाइएन भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णकुमारी सुवेदीले बाढीपहिरोबाट नागरिकको जीउधन रक्षा गर्न माग गर्नुभयो । अर्का सांसद टेकबहादुर बस्नेतले बजेटको उचित प्रयोग र व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अर्का सांसद धर्मशिला चापागाईँले निवर्तमान केपी शर्मा ओलीले केही अघि सदनमा बोल्ने क्रममा जनयुद्धका घाइतेले उपचार नपाए पार्टी कार्यालयमा पठाइदिनु भनेको कुरा कोट्याउँदै सँगै जेल बसेका साना दुर्गा अधिकारी, मानकुमार तामाङहरू कहाँ छन् भनी प्रश्न गर्नुभयो । उहाँले संविधानसभाका सदस्य धर्मप्रसाद घिमिरे गम्भीर बिरामी हुँदा सरकारबाट राहत पाउन नसकेको कुरा पनि स्मरण गराउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद दलबहादुर रानाले भूमि आयोग खारेज गरेकामा आपत्ति जनाउँदै जनतालाई जग्गा नदिने सरकारको नियत देखिएको आरोप लगाउनुभयो । सोही पार्टीका अर्का सांसद दामोदर भण्डारीले दार्चुलामा तुइन चुँडाएर बेपत्ता भएका जयसिंह धामीको सन्दर्भमा भारतसँग कुनै पनि कूटनीतिक पहल नगरेकामा दुःख व्यक्त गर्नुभयो ।
सांसद नवराज रावतले कोरोना नियन्त्रणमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारदमुनी राना दार्चुलाका जयसिंह धामी आँखा अगाडि बेपत्ता हुँदा र मेलम्ची बाढीले पुरिँदा पनि सरकार बेखबर र मौन रहेको आरोप लगाउनुभयो ।
नेकपा (एमाले)का निरुदेवी पालले पार्टी व्यक्तिभन्दा माथि देश भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरी नेपाली नक्सा सार्वजनिक गरेको जानकारी गराउँदै अब उक्त भूभाग लिन राष्ट्रिय सहमति जुटाउनुपर्ने आवश्यकता होइन र ? भन्दै सरकारसँग प्रश्न गर्नुभयो ।
सांसद निरादेवी जैरुले दार्चुला घटनाको बारेमा सत्यतथ्य बाहिर नआएकामा आपत्ति जनाउनुभयो । बैठकमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिताताको छानबिनको माग गर्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद दिलकुमारीले कोभिडका कारण सीमा क्षेत्र बन्द भए पनि तस्करीका घटना भइरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले सर्वसाधारण जनताले सास्ती खेपिरहेकाले प्रदेश नं २ का सबै सीमा खुला गर्न आग्रह गर्नुभयो ।
बैठकमा कांग्रेसका सांसदहरु पद्मनारायण चौधरी, पार्वता डिसी चौधरी, प्रकाश रसाइली स्नेही र पर्मिला राई, नेकपा (एमाले)का पार्वतीकुमारी विशुन्के र पवित्रा निरौला खरेल, जसपाका प्रदीप यादव र प्रमोद साह तथा अर्का सांसद नारायणप्रसाद मरासैनीले शून्य समयमा धारणा राख्नुभएको थियो ।