काठमाडौँ l सरकारले सिंहदरबारबाट आइतबार अपरान्ह न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सत्तारुढ गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारले कोभिड १९ बाट सिर्जित मानवीय संकट समाधानलाइ केन्द्रविन्दुमा राखेर न्यूनतम साझा कार्यक्रम ल्याएको हो ।
सिंहदरबारमा आयोजित कार्यक्रममा कोरोना महामारीबाट उत्पन्न मानवीय संकट समाधान गर्ने गरिको साझा कार्यक्रम ल्याइएको सो कार्यक्रम निर्माण कार्यदलका संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरे ।
स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा साधन (पिपिइ), उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने खड्काको भनाइ छ ।
खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने समेत कार्यक्रममा समावेश गरिएको छ ।
कोरोनाको तेस्रो लहरविरुद्ध स्वास्थ्य सचेतना, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्य सामग्रीको व्यवस्थापन र अस्पतालहरूको स्तरोन्नति गर्ने विषयलाइ समेत कार्यक्रमले प्राथमिकता राखेको छ ।
प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले पनि साझा कार्यक्रमको स्वामित्व लिएका छन् ।
त्यस्तै साझा कार्यक्रममा केपी शर्मा ओली नेतृत्वको पालमा भएको भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउने प्रतिबद्धता गरिएको छ ।