काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दाहरुमा सम्मानित उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका काठमाडौको टोखा निवासी ४८ बर्षिय मिलन डंगोल र कामनपा वडा नम्वर ३२ घर भएका ६३ बर्षिय देवनारायण महर्जनलाई पक्राउ गरेको छ ।
सिआईबीको अनुसार डंगोललाई आज सोमबार टोखाबाट र मर्हजनलाई कलंकीबाट पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये डंगोलउपर सात दिन कैद र १५ लाख रुपैयाँ जरिवाना र महर्जन उपर पाँच दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएको छ ।
ति दुई जना प्रतिवादीहरुलाई बिभिन्न स्थानहरुबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको र निज प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका बिभिन्न रकमका चेकहरु काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट बिभिन्न मितिमा निज प्रतिवादीहरुको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम निम्न उल्लेखित सजाय हुने गरी फैसला भएको सिआईबीले जानकारी दिएको छ ।