काठमाडौं । झापामा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका–७ बस्ने ४७ वर्षीय विष्णु गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत बिराटनगर, इलाम इजलास इलामको २०७७ पुस १३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद र ४० लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ६० हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराईएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तनहुँमा पनि ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैटे भन्ने रोशन गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०७७ फागुन २० गते राती सोही नगरपालिका–७ पाथ्रा बस्ने २२ वर्षीय किशोर कुमार श्रेष्ठलाई सामान्य बिवादमा ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट खटिएको प्रहरीले आबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरेको हो । गुरुङ उपर ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यसैगरी बारामा लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका–५ ठेगाना भएकी गिता भन्ने मनिषा गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०७४ भदौ ५ गतेको फैसलाले लागूऔषध गाँजा मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी कैलया उपमहानगरपालिका–१ ठेगाना भएका भोला भन्ने बृजकिशोर पटेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०७४ माघ १० गतेको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र १२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला अदालत बारा पेश गरिएकोमा अदालतको आदेशले उनीहरुलाई कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।