काठमाडौं । कोरोना महामारीको दोस्रो लहरसँगै फेरी बैदेशिक रोजगारीमा अनिश्चीतता बढेको छ । बिदेशबाट माग नै कमि आएको छ । र आएका मागमा पनि पठाउनलाई कठिन भएको छ ।अब झनै बैशाख २२ बाट अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि यसमा थप अनश्चितता पैदा भएको छ ।
बैदेशिक रोजगारीको मागमा गत वर्षको तुलनामा यसपालि ६५ प्रतिशतले कमी आएको छ । आएका मागमा पनि कोरोना महामारीका हिसाबले नेपाल खतराको सुचिमा परेपछि पठाउन कठिन भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा संस्थागत र व्यक्तिगत गरी १ लाख ९० हजार श्रमिक गएकोमा यो वर्षको ९ महिनामा १ लाख २४ हजार मात्र श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । यो वर्ष १ लाख ५० हजार पुग्न सक्ने विभागको आकलन छ ।
यो आर्थिक वर्षको चैतसम्म वैदेशिक रोजगारीका लागि आउने कामदार माग संख्या ६५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ३ लाख २९ हजारको माग आएकोमा यो वर्ष १ लाख १४ हजारको मात्र आएको विभाग बताउँछ । जसले आउादा वर्ष वैदेशिक रोजगारीको क्षेत्र खुम्चिने देखिन्छ ।
अहिले करिब १० हजार युवा दक्षिण कोरिया जान तयारी अवस्थामा छन् । एक महिनाअघि कोरियाले नयाँ परीक्षा लिने र कोरिया लैजाने संकेत दिएको थियो । जसका लागि करिब ६ हजार युवाको भिसाको म्याद पनि थपेको थियो । तर अहिले नेपालमा संक्रमण बढेपछि पुनः नेपाल खतरा सूचीमा पुगेको छ । जसले कोरियाली रोजगारदाताले नेपाली श्रमिकलाई लैजाने सूचीमै राखेर पहिलोपटक भिसाको म्याद थपे पनि जाने बाटो कहिले खुल्छ भन्ने अनिश्चीत छ।
त्यस्तै इजरायलको एक हजार कोटाका लागि पठाउने भन्नेमा पनि यस्तै अन्योल छ । श्रम मन्त्रालयले कोरोना महामारीलाई देखाउादै कार्यविधिको काम नै अल्झाएर राखिएको छ । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाले पनि संक्रमित देशबाट श्रमिक नलिने नीतिबमोजिम नेपाललाई खतराको क्षेत्रमा राखेको छ ।
महामारीअघि मलेसियाबाट आएका मागपत्रको म्याद नै सकिने क्रममा छ । त्यस्तै कुवेतले पनि कामदार लिएको छैन ।
साउदी अरेबियामा ६० हजार बढी श्रमिकको माग भए पनि त्यससम्बन्धी करिब २३ सयवटा फाइल कर्मचारी र अरु समस्या देखाएर अगाडि बढाइएको छैन । दूतावासले प्रमाणीकरण नगर्दा यी माग रोकिएको छ।