सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

आइतबार, बैशाख १२ २०७८

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ हजार ४ सय ९८ ट्याब्लेट नाईट्राजेपाम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी सम्सी गाउँपालिका–२ बस्ने ४७ वर्षीय लाल बाबु नदाफ र  २७  वर्षीय अलि हुसेन रहेका छन् । महोत्तरी गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको  प्रदेश ३–०१–००५ ख ९७२७ नम्बरको बसलाई लागूऔषध नियन्त्रण व्यूरो तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं महानगरपालिका–८ गौशाला तिलगंगाबाट करिब २ ग्राम ५ मिली ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, १ थान मोबाइल र नगद ४ हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने सिरहा मिर्चैया नगरपालिका–६ घर भएका २३ वर्षीय रन्जित कुमार कारकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बा.९९ प ४१०८ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी प्रभाग कोटेश्वतरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक कारकलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 
मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ शान्ती चोकबाट २ केजी ४ सय ३५ ग्राम अवैध लागूऔषध गाँजा, करिब ७ ग्राम चरेश जस्तो देखिने पदार्थ, १ थान  बन्यजन्तुको आखेटोपहार सिङ् र नगद २६ हजार ३ सय ५० रुपैयाँ सहित सोही ठाउँ बस्ने २४ वर्षीय सिदार्थ भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ दारु चोकबाट नियन्त्रित लागूऔषध १ सय २० ट्याब्लेट नाईट्राभेट सहित सोही नगरपालिका–५ बस्ने २८ वर्षीय रोहित मंडललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । स.१ ह ३७६० नम्बरको टेम्पुलाई  ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टेम्पुमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।