काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका–९ हरिपुरबाट १ थान भरुवा बन्दुक सहित मिथिला नगरपालिका–३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले हरिपुर गाउँबाट जंगलतर्फ जाँदै गरेका ३ जनामध्ये उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । साथै फरार रहेका अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
महोत्तरीको गौशाला नगरपालिका–११ महरा पुल नजिकै जंगलबाट १ थान भरुवा बन्दुक, भरुवा बन्दुकमा प्रयोग हुने ५० ग्राम बारुद र १ थान बारुद खाद्ने– डण्डी सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका–१ सनिडाँडा बस्ने ३९ वर्षीय सोम बहादुर मगर र गौशाला नगरपालिका–८ बस्ने ५६ वर्षीय कृष्ण बहादुर मगर रहेका छन् । जंगलमा शिकार खेल्न आएको अवस्थामा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उक्त बन्दुक र बारुद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।