काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरुले मधेसको मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै सम्बोधन गर्ने निष्कर्ष निकालेका छन् । राजेन्द्र महतो निकट नेता मनीष सूमनले न्युज ट्वान्टी फोरसँगको अन्तर्वार्तामा अहिलेको अवस्थामा मधेसको माग सम्बोधन गर्ने ल्याकत ओलीबाहेक अरु कसैमा नभएको बताए ।
यस्तो छ अन्तर्वार्ताको अंश:
कांग्रेस सभापित शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने इच्छा नै छैन । बरु उनका पार्टीका अरु नेतालाई इच्छा हो । कोही कोही हाम्रा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न पनि आउँछन् । तर स्वयं पार्टीको सभापति जसलाई नेतृत्व दिने निर्णय गरेको छ कांग्रेसले पार्टीमा त्यति इच्छुक भएको देखिँदैन ।
कांग्रेसले निर्णय गरेपछि देउवा निवासमा हामीलाई बोलाइयो । हामीले आफ्ना एजेण्डा राखेका छौं । साविकका मागहरु रेशम चौधरीको निशर्त रिहाइ, मुद्दा खारेजी । थुप्रै राजबन्दीको रिहाइ । मधेस र थारु आन्दोलनका झुठा मुद्दा फिर्ता, नागरिकता विधेयक अगाडि बढाउ । नेपालको संविधान अपुरो छ संशोधन गरौं ।
मधेस आन्दोलन ताका भएका घटना छानविनका लागि बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न शेरबहादुर र प्रचण्डको कार्यकालमा पनि भनेको हो । उहाँहरुले चासो दिनुभएन । अहिले ओलीजी चासो दिँदै हुनुहुन्छ । उहाँलाई आवश्यकता छ त्यही भएर धेरै चासो दिइरहनुभएको छ । मुद्दाहरु फिर्ताको क्रममा छ । यो सब अगाडि बढिसकेपछि हतार हतार जसपा उता (ओली) लाग्ला कि भनेर हामीलाई बोलाएर औपचारिक रुपमा एउटा प्रस्ताव सुनाइयो । म आफै प्रधानमन्त्री बन्न इच्छुक छु तपाईको के छ विचार? पहिलोपटक सुन्ने वितिकै होइन तपाई त धेरै राम्रो, अनुहार राम्रो भनेर होस्टेमा हैसे मिलाउने अवस्था पनि थिएन । हामी विचार गर्छौं भनेर फर्केका छौं । विचार गर्दैछौं ।