सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

आइतबार, चैत्र २२ २०७७

काठमाडौं ।  सुनसरीको धरान उपमहानगरपालिका–१५ ज्ञानचर्च मार्गबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने खोटाङ दिप्रुङ गाउँपालिका–४ घर भएका २१ वर्षीय मिलन राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 
महोत्तरी, औरही नगरपालिका–४ कठुधारबाट नियन्त्रित लागूऔषध फेनारागन ५८ एम्पुल, नुर्फिन ६२ एम्पुल, डाइजेल्याब ६० एम्पुल र नाइट्राभेट १२ ट्याबलेट सहित गौशाला नगरपालिका–२ निगौल बस्ने १४ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश ०२–०२३ प ५७७१ नम्बरको स्कुटरलाई अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषध ओसारपसार गर्न लगाउने भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ मुरारीखोला घर भएका ३३ वर्षीय प्रेम तामाङ र स्कुटर चालक आशिष चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । 
कास्की, पोखरा महानगरपालिका–३० गगनगौंडाबाट अवैध लागूऔषध २ किलो गाँजा सहित चितवन कालिका नगरपालिका–३ गैराबारी बस्ने २० वर्षीय नबिन गुरुङ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ग.२० प १३६६ नम्बरको स्कुटरलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।