आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कचहरी बस्न गएका मन्त्री नै लखेटिए

सोमबार, चैत्र १६ २०७७

‘बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु, बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु’ भन्ने उखानलाई बिर्सेर जनतामाझ कचहरी बस्न गएपछि उर्जामन्त्री टोपबहादुर रायमाझी लखेटिएका छन् ।

‘यो लाइन प्राविधिकलगायत सबै कुराले राम्रो रहेछ । यो लाइन सर्दैन । म तपाईंहरुलाई अरु जस्तो ललिपप ख्वाउन आएको होइन । तपाईंहरुले बिरोध,बाधा नगर्दिनुस् । नभए राज्यले शक्ति प्रयोग गर्न पनि पछि पर्दैन’ भनेपछि भेलामा उपस्थित सरोकारवालाले मन्त्री विरुद्ध होहल्ला शुरु गरे ।

होहल्ला शुरु भएपछि कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उदयपुर प्रहरी प्रमुख भीमप्रसाद दाहाललगायतले मन्त्रीलाई सुरक्षितरुपमा भीडबाट निकाले । होहल्लासँगै भीड बढ्दै गएपछि मन्त्री रायमाझी लामो फड्को मार्दै सुरक्षा घेराबीच अघि बढे तर हुलले पछ्याइ रह्यो ।

उनी फागुन १० गते कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठको नेतृत्वमा गएको सोलु कोरिडर १३२ केभी प्रसारण लाइन आयोजनाबाट पीडितहरुको मर्का सुन्न कटारी आएका थिए ।
तर,पीडितहरुमाझ बसेर ठालू पल्टँदैं शक्तिको प्रयोग गर्ने कुरा गरेपछि माथिको उखान चरितार्थ हुन पुगेको हो ।

मन्त्री रायमाझीलाई जनतामाझ साइजमा ल्याउनको लागि नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार खत्री र नगर सभापति गोपी पराजुली,माओवादी केन्द्रका केपी बराल,व्यवसायी कृष्ण थापा र समाजसेवी डाकबहादुर थापाले हुलको नेतृत्व गरेको बताइन्छ ।

उक्त आयोजनाले सन् २०१६ सेप्टेम्बरमा काम शुरु गरे यता विभिन्न कारण जनाउँदै पाँच पटक काम सक्ने म्याद थपिसकेको छ । अन्य क्षेत्रको काम सहजरुपमा सम्पन्न भए पनि कटारी मरुवा क्षेत्रभित्र करिब ४ किलोमिटर प्रसारण लाइनभित्र पर्ने जग्गाधनीहरुले अवरोध सिर्जना गर्दै आएका छन् ।

पीडितहरुको प्रसारण लाइन क्षेत्रभित्र पर्ने नम्बरी तथा ऐलानी जग्गाको उचित क्षतिपूर्ति पाउनुपर्ने माग छ । एक जानकारका अनुसार सो क्षेत्रमा करिब एक करोड रुपैयाँ बराबरको मुआब्जा दिनुपर्ने आँकलन गरिएको विज्ञहरुले गरेका छन् ।

अस्तिको घटनापछि अवरुद्ध आयोजनाको कामलाई कसरी सम्पन्न गर्ने भन्ने चिन्ता थपिएको आयोजना प्रमुख जनार्दन शर्माले बताए । उनले अवरोध नहुने हो भने आउँदो अढाई महिनाभित्र काम सम्पन्न हुने दाबी गरेका छन् ।

मन्त्रीलाई धपाएपछि आयोजना कसरी सम्पन्न गर्ने भनेर चिन्ता बढेको छ । ‘पीडित जनताले मन्त्री रायमाझीविरुद्ध हुलहुज्जत गरेको’ प्रत्यक्षदर्शी एकजना जनप्रतिनिधिले समेत हो भनेका छन् ।

त्यतिबेला मन्त्रीकै शैलीमा आयोजना प्रमुखले पनि अलाइन्मेन्ट फेर्न सकिँदैन भनेर ठाडो जवाफ दिएपछि सबै क्रुद्ध भएका हुन् । जन आश्था साप्ताहिकमा खबर छ ।