काठमाडौं। जब नेपालमा राजनीतिक साख ओरालो लाग्छ, भारतबिरोधी भावनालाई प्रष्ट ढंगले राख्ने गर्छन् नेता। यसै क्रममा ०७२ पछि बनेको केपी शर्मा ओलीको सरकार गिराएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ बर्षपछि भारतबिरोधी कार्ड खेल्न थालेका छन्।
त्यसबेलादेखि गएको बर्षसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले यहि कार्ड खेलेर सत्तालाई टिकाएका थिए। अब, माओवादी केन्द्रकै साख सोत्तर हुने भएपछि प्रचण्डले यो क्रम सुरु गरेका छन्।
यसको संकेत उनले केही दिनदेखिका भाषणमा हुँदै आन्तरिक प्रशिक्षणमा समेत दिन थालेका छन्। केही दिनअघि प्रधानमन्त्री ओलीलाई विदेशीले पालेका दलाल भनेका प्रचण्डको बुधबार भने नेपालीलाई भारतले निरिह बनाएको भन्ने संकेतको अभिव्यक्ति सार्वजनिक भएको छ।
उनले संविधान जोगाउनका लागि आत्मनिर्णयको अधिकारको विषयमा प्रवचन सुरु गरेका छन्। प्रचण्ड उनै हुन् जो भारतीय डिजाइनका आधारमा ओलीको अघिल्लो सत्ता गिराएर आफैं प्रधानमन्त्री बनेका थिए, कांग्रेससँगको सत्ता सहकार्यमा।
उनी प्रधानमन्त्री बनेपछि नेपाल प्रहरीदेखि सर्वोच्च अदालतसम्म हमला भएको थियो। जसको शिकार बनेकी थिइन्, तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की। तर, हालका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको फैसलाले कार्कीको जागिर जोगिएको थियो।
‘राजनीतिमा भारतबिरोधी कार्ड फ्याँकेर शक्तिमा आउने र भारतसँगै लम्पसार पर्ने प्रवित्ति छ’, उच्च स्रोतले भन्यो,‘अब त्यो प्रवित्ति हावी हुनेवाला छैन। प्रचण्ड आफैं भारत बसेर नेपालमा युद्ध गराउने मानिस हुन्।’
बुधबार सार्वजनिक भएको अभिव्यक्तिमा प्रचण्डले भारतको नाम नलिए पनि संविधान निर्माणका बेला धावा बोलेका शक्तिले ओलीको प्रयोग गरेको टिप्णी गरे। संविधान घोषणाका बेला भारतले तत्काल रोक्नका लागि भनेको थियो। यस्तै हालका विदेशमन्त्री, तत्कालिन विदेश सचिव एस जयशंकर सोही कामका लागि प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा आएका थिए।
भारतले अहिलेसम्म नेपालको संविधानलाई नोटमा मात्र राखेको छ, स्वागतसम्म गरेको छैन। तर, प्रचण्डले त्यसको बिरोध गरेका थिएनन्। गत बर्ष ओलीले भारतसँग मिलेर साथीहरुले सत्ता गिराउन खोजेको भनेका बेला प्रचण्डको उत्तर थियो,‘भारतले होइन, मैले राजीनामा मागेको हुँ।’