काठमाडौं । ग्रिन कफिले मोटोपन घटाउँछ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१७ खुशीवु नयाँबजारबाट २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१७ खुशीवु नयाँबजार बस्ने कास्की पोखरा महानगरपालिका–१९ ठेगाना भएका टिम वान सप्लायर्स प्रालिका संचालक ४२ वर्षीय आशिष आचार्य र राहदानी नम्बर ७५२६६५८५७ वाहक रसियन नागरिक ३० वर्षीय क्ष्न्इच् प्ग्त्क् रहेका छन् ।
आशिषसमेतले ग्रिन कफिले कुनै साईड ईफेक्टबिना साताको १३ किलो वजन तथा मोटोपन घटाई शरीरलाई फाईदा हुने अचम्मको विधि पत्ता लगाएको भन्ने विज्ञापन तथा सामाजिक सञ्जालमा प्रचारप्रसार गरी भ्रामक सूचना फैलाई विक्रीवितरण गरी ठगी गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त सप्लायर्सबाट ६ सय ४४ केजी हरियो कफि, तयारी अवस्थामा राखिएका १ सय ग्रामका २ हजार ८ सय २२ प्याकेट हरियो कफी, १ सय १४ थान विभिन्न बाकस, २५ थान ल्यापटप, २ थान सिपियु, रसियन नागरिक क्ष्न्इच् प्ग्त्क् को २ थान राहदानी प्रहरीले बरामद गरेको छ । साथै क्ष्न्इच् प्ग्त्क् को डेरा कोठाबाट ३ लाख ९७ हजार नेपाली रुपैयाँ, बिटकोइन माइनिङसँग सम्बन्धित उपकरणहरु जस्तो देखिने सिपियु सहितको मदरबोर्ड, ४ पिस ग्राफिक्स कार्ड र हार्डडिक्स समेत प्रहरीले बरामद गरेको छ ।