आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पाहा पछारे झैं माधव नेपाललाई पछार्न प्रधानमन्त्री ओलीले चालेका भयानक कदम यस्ता छन्

बिहिबार, चैत्र ५ २०७७

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली पाहा पछारिएझैं पछारिने अभिव्यक्ति दिएका थिए नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले। त्यसका लागि माधव नेपालसहितको टोलीले एमालेमा विद्रोह गर्ने समेत घोषणा गरेका थिए। 
विहीबार बिहान मात्रै पनि सिन्धुलीमा उनले सोही विचारलाई केही कार्यकर्तासामु राखे। तर प्रधानमन्त्री ओलीले भने नेपाललाई नै पाहा पछारे झैं पछार्न विभिन्न कदम चालेका छन्। 
खासगरी बुधबार राती एउटा अन्तरवार्ताका क्रममा नेपाललाई कारबाही नै गर्ने घोषणा गरेका ओलीले विहीबार बिहान बालुवाटारमा डाकेको संसदीय दलको बैठकलाई लिएर नेपाल पक्षमा विद्रोह भएको छ। 
नेपाल पक्षका केही प्रत्यक्ष निर्वाचित र समानुपातिकका एकाध बाहेक सबै सांसद सहभागी भएको बताइएको छ। ‘पहिलो चरणमा त नेपाललाई यहिँ पछार्न ओली सफल भएका छन्’, एमाले स्रोतले भन्यो। 
उता तटस्थ बसेका र एकता अभियानमा लागेका कतिपय सांसद पनि बालुवाटारमा सहभागी भएपछि नेपाल पक्ष अझ कमजोर बनेको छ। त्यहाँमाथि उक्त भेलामा २५ प्रतिशत मानिस त आफ्नै रहेको भनी ओलीले दाबी समेत ठोकिसकेका छन्। 
एमालेभित्रको विवादसम्म कतै नखुलेका पूर्वमन्त्री लालबाबु पण्डित र उपाध्यक्ष बामदेव गौतमपत्नी तुलसा थापा पनि ओलीको पक्षमा खुलेपछि नेपाल अझ खुइलिएको ओली पक्षको दाबी छ। ‘अब पार्टी कमिटीमा पनि पछार्ने तयारी रहेको छ। बहुमतको निर्णय नै पार्टीको निर्णय हुने भएपछि ७ चैतमा केन्द्रीय समितिको बैठकमा उपस्थित नभए नेपाल पक्षलाई कारबाही हुन्छ’, ओली निकट स्रोतले भन्यो,‘कसको हैसियत के हुन्छ भन्ने विषय बैठकले नै गर्नेछ।’
एमाले केन्द्रीय कमिटीमा प्रधानमन्त्री ओली बहुमतमा रहेका छन्। उनीसँग १०५ जना थिए भने २३ जना थपेका छन्। पछिल्ला चरणमा नेपाल पक्षमा रहेका कतिपय नेता पनि ओलीलाई समर्थन गर्न उत्रिएका छन्।