आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एमाले पूर्णतया ओलीको कब्जामा, महासचिवबाहेक सबै पदाधिकारी खारेज

शनिबार, फाल्गुन २९ २०७७

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले)मा पहिलो औपचारिक बैठक नै नबसी अन्तरसंघर्ष चर्किएको छ। पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक माधव नेपाल पक्षले थाहै नपाइ महत्वपूर्ण निर्णयसहित टुंगिएको छ । बैठकले महाधिवेशनको मिति तोक्नुका साथै नेताहरूको जिम्मेवारी समेत तोकेको छ ।

बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज बनाएको छ । बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् । त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा। राजन भट्टराईले पाएका छन् । प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् । अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने जानकारी ओलीले गराएका छन् ।

नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् । ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।

ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘खबर गर्न छुट्नुभएकाहरुलाई अर्को बैठकमा खबर गर्नू । माधवजीहरुलाई खबर पुगेको रहनेछ भने पनि पुर्‍याइदिनू । आउनु हुन्छ कि आउनुहुन्न तर पनि खबर चाहिँ गर्नुपर्छ ।’ ओलीले माधवलाई अपमान र तिरस्कार गरेर बैठकमै आउन नसक्ने बनाएका छन् ।

महासचिवबाहेक सबै पदाधिकारी खारेज

ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए ।

ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् । साथै पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली तोकिएका छन् भने बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिए ।

मंसिर २ देखि महाधिवेशन

ओलीले एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने निर्णय गरेका छन्  । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।