काठमाडौं– ‘पार्टी विभाजन गर्ने कि? ओलीसँग आत्मसमर्पण गर्ने? हामीसँग त बहुमत पनि छैन, चुनाव चिन्ह पनि नरहने भयो त, के गर्ने?’, पूर्वएमालेको आफ्नो समूहका नेतासँग सोमबार माधवकुमार नेपालले सोधे,‘सर्वोच्च अदालतको फैसलाले त अप्ठ्यारोमा पारिदियो त?’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद भएपछि पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका नेता नेपालको हाउभाउमा अत्यास देखिएको भन्दै एक नेताले भने,‘अब त संसदीय दलको नेता पनि ओली हुन्। ह्वि पनि उनको चल्छ। हामीसँग के विकल्प छ?’
केही स्थायी समिति सदस्यले अहिले आत्तिने भन्दा पनि ओलीसँग पहिलाको जस्तो अन्तरसंघर्ष जारी राख्ने र एमालेमा नै रहनुपर्ने सुझाव दिए। केही महिनामा महाधिवेशन हुने र त्यसपछि नेतृत्वमा आएर ओलीलाई पाखा लगाउनुको विकल्प नरहेको पनि कतिपयको भनाई थियो।
‘जनताको सेन्टिमेन्ट सूर्य चिन्हसँग छ। कार्यकर्ताको सेन्टिमेन्ट पनि त्यहिँ छ। समाचार आउन थाले ओलीले एमालेका बोर्ड राख्न थालीसकेका छन्। यो सेन्टिमेन्टमा हामी जोडिनु उपयुक्त हुन्छ’, नेपाललाई केही नेताको सुझाव थियो,‘नत्र मुलुकको राजनीति त एकातिर होला हाम्रो राजनीतिचाहिँ प्रचण्डतिर लागेर सक्किने भो!’
कतिपयले एमालेभित्र गुटको लडाई मात्र रहेको र त्यो लडाईमा कहिले ओली त कहिले आफूहरु बहुमत र अल्पमतमा रहेको स्मरण गर्दै एक सांसदले भने,‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नै हामीलाई गाह्रो भएको छ।’
प्रचण्ड समूहको स्थायी समितिको बैठक डाकिएको थियो। तर त्यहाँ जानुभन्दा अघि नेपालले आफूनिकटको बैठक राखेका हुन्। सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएपछि नेपाललाई कठिन मोलेको अनुभूति हुन थालेको छ।
‘हेर्नुस् पार्टी जीन्दगीभरी एमाले भनियो। त्यो महाधिवेशनसम्म मान्नुपर्छ। त्यसपछि जे गरौंला, बाध्यताले पनि त उतै फर्किनु पर्ने भएन र?’, उपस्थितले नेपाललाई सुझाव दिए।
यसैबीच, ओलीसँग अहिले लडाई लडेर भन्दा पनि राजनीतिक रुपमा नजिक भएर शक्तिमा उदय हुनसक्ने रायमा योगेश भट्टराई उभिएका छन्। त्यसैले उनले एकीकरणको नयाँ ढाँचा र प्रस्ताव लिएर जानुपर्ने पनि भनेका थिए।
उता घनश्याम भुसालसहितका कतिपय नेताहरू भने एमाले व्युँतिएकोमा खुसी भएका छन्। दोस्रो तहका नेताको नेतृत्वमा आगामी एमाले अगाडि बढाउने सहमति शंकर पोखरेलसँग भुसालले गरिसकेका छन्।