आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एमाले पहिलो दल बन्दा माओवादी तेस्रो, कसका कति सांसद ?

सोमबार, फाल्गुन २४ २०७७

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई बदर गरिदिएपछि संघीय संसदमा दलहरूको समीकरण फेरबदल भएको छ ।सर्वोच्चले २०७५ जेठ ३ गते पार्टी एकता हुनुअघिको अवस्थामा फर्काएपछि संसदमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । 

प्रतिनिधि सभामा एमालेका ८० प्रत्यक्ष र ४१ समानुपातिक गरी १ सय २१ सांसद छन् । समानुपातिक सांसद सानु सिवाको निधन भएका कारण अहिले प्रतिनिधि सभामा एमालेका १२० सांसद छन् ।

साविकमा पनि एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुन् । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ६३ सांसद छन् । विजयकुमार गच्छदार र मोहम्मद आफ्ताब आलम निलम्बनमा छन् । 

तेस्रो दलको हैसियतमा फर्किएको नेकपा माओवादी केन्द्रसँग प्रतिनिधि सभामा ५३ सांसद छन् । माओवादी केन्द्रको संसदीय दलको नेता पुष्पकमल दाहाल प्रचण्ड छन् । माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सीट प्राप्त गरेको थियो ।

अहिले पूर्व माओवादी खेमाका टोपबहादुर रायमाझी, लेखराज भट्टसहितका ३ सांसद ओली पक्षमा लागेका छन् । उनीहरू एमालेमा समाहित हुन भने कानूनी जटिलता देखिन्छ । दल परित्याग गरेको अवस्थामा उनीहरूको सांसद पद समेत रिक्त हुन सक्ने देखिन्छ ।

प्रतिनिधि सभामा जनता समाजवादी पार्टीका ३४ सांसद छन् । जसपा बन्नुअघि राजपा र संघीय समाजवादी पार्टीका समान १७ सांसद थिए । तत्कालीन राजपा र समाजवादी दुवैका १/१ सांसद निलम्बित अवस्थामा छन् । संसदमा राप्रपा, नेमकिपा र जनमोर्चाका स्वतन्त्र हैसियतका एक–एक सांसद छन् ।