नेपाल सरकार र नेत्रविक्रम चन्द समूहबीच संवादका माध्यमबाट सम्पूर्ण राजनीतिक विषयको समाधान गर्ने गरी तीनबुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र चन्द समूहको वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले आज संयुक्त विज्ञप्ति जारी गरी सहमति भएकोपत्र सार्वजनिक गर्नुभयो ।
उक्त सहमतिसँगै चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ । विज्ञप्तिमा नेपाल सरकारबाट उक्त समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजी गरिने उल्लेख छ ।
सहमतिको विस्तृत विवरण भने शुक्रबार अपराह्न २ बजे विशेष समारोहका बीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका तर्फबाट महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि बुधबार वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा चरणबद्धरूपमा संवाद भएको थियो । सरकारका तर्फबाट गृहमन्त्री थापा र चन्द समूहका तर्फबाट विश्वकर्माका संयोजकत्वमा मङ्गलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो । सरकारी तर्फबाट वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र चन्द समूहका तर्फबाट दीपक चलाउने हुनुहुन्थ्यो । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते उक्त समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।
नेता–कार्यकर्तालाई भोलिसम्म छाड्न गृहको सर्कुलर
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबारसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ ।
गृह मन्त्रालयले बिहीबार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले खबरहबसँग भने, ‘ जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब १७० जना विप्लव समूहका कार्यकर्तालाई भोलिसम्म छाड्न सर्कुलर जारी गरिएको छ।’ तीमध्ये १८ जना अझै हिरासतमै छन् ।
त्यस्तै मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरीयताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।
अदालतको आदेशपछि जेलमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका विप्लवका बन्दीको हकमा प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको सह–सचिव बुढाले बताए । उनले भने– ‘अदालतमा चलेको मुद्दाको हकमा आवश्यक सहजीकरण गरिदिने भनेका छौं ।’