काठमाडौं । प्रतिबन्ध फुकुवा गरी नेत्र विक्रम चन्द विप्लवले राखेको जनमत संग्रह र राष्ट्रिय सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओली तयार भएको खण्डमा नयाँ राजनीतिक परिवेशका परिदृश्य देखा पर्ने सम्भावना बढेको छ।
यदि त्यस्तो सहमति भएको खण्डमा विप्लव नेतृत्वको पार्टी ओलीको नेपाल कम्युनिस्ट पार्टीमा विलय हुन सक्ने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्। यस्तो अवस्थाका लागि दुई पार्टीको बटमलाइनचाहिँ राष्ट्रिय स्वाधिनताको सवालमा हुनसक्ने बताइएको छ।
बुधबार सरकार र विप्लव समूहको वार्ता एक चरण सकिएको छ। सो क्रममा पनि यी आन्तर्यसहितका प्रस्ताव र एजेन्डालाई प्रस्तुत गरिएको थियो। प्रतिनिधि सभा विघटनको निर्णयमा प्रधानमन्त्री ओली पुगेपछि यो संसदीय व्यवस्थाविरूद्ध भूमीगत रहेको विप्लव समूहले नयाँ राजनीतिक लय समात्ने प्रयत्न सुरु गरेको बुझिएको छ।
‘ओलीतिर विद्रोही भावना भएका नेताहरू किन लागेका हुन्। क्रान्तिका ठूला गीत लेख्ने मणि थापाहरू एक थान मन्त्रीका लागि मात्र होइन, राष्ट्रियता र स्वाधिनताका लागि पनि लागेका हुन् भन्ने संश्लेषणका आधारमा नै अनेक प्रकारका प्रस्ताव र विकल्पमा छलफल चलिरहेका छन्’, विप्लवका एक उच्च तहका नेताले भने,‘हामी प्रचण्डको बाटो समात्न सक्तैनौं भन्ने स्पष्ट छ।’
लामो जनयुद्धको औचित्य समाप्त पार्दै प्रचण्डले नेपाली जनजीविका भन्दा पनि भारतीय शैलीलाई राजनीतिक गतिमा बदलेको ठहर विप्लव समूहले गरेको छ। जसका कारण क्रान्ति सफल नभएको बुझाईमा त्यसलाई सफल बनाउन ओलीको साथ अनिवार्य रहेको बताइन्छ।
ओली नेतृत्वको नेकपामा विप्लवको पोर्टफोलियो र सहमतिका विषयमा पनि वार्ताका दौरानमा सहमति जुटाउने तयारी भएको बताइएको छ। ‘यो वार्ता शान्ति प्रक्रियामा आउने मात्र होइन, राजनीतिक शक्ति कति बलियो बनाउने भन्ने विषयमा पनि केन्द्रित रहेको छ’, स्रोतले भन्यो,‘सबै कुरामा प्याकेजमा सहमति भएको खण्डमा नेकपा विलय हुन्छ।’